MY GIRL a movie

AFNO TV

New Nepali Songs

Wednesday, March 11, 2009

बेड शेयर गर्न मात्र किन बिहे गर्ने ?: कोमल वली

'सुन हजुर घर मेरो टिकरी, जिन्दगीमा क्यै छैन फिकरी' भनेर दाङ जिल्लाको टिकरीमा हुर्किएकी गायिका कोमल वलीको चर्चा बिहेको मौसमहरुमा ज्यादै चर्चामा आउँछ । जीवनका यौवनपूर्ण वर्षहरू बित्दै जाँदा बिहेका बारेमा उनी स्वयंलाई भन्दा उनका शुभेच्छुकलाई चिन्ता बढ्न थालेको छ । अहिले राष्ट्र लोडसेडिङमा परेका बेला उनको चर्चा पनि लोडसेडिङमा परेको छ । फागुन पनि बित्न लाग्दा उनको बिहेको चर्चा पनि सेलाइसकेको छ । प्रस्‍तुत छ उनै कोमल वलीसँग गरिएको यो संवाद :

तपाइँ बच्चामा के बन्न चाहनुहुन्थ्यो ?
मलाई अझै याद छ, बुवाले भविष्यमा तिमी के बन्छौ भनेर सोध्नु हुँदा म प्रधानमन्त्री हुन्छु भन्थेँ ।

कुन बेला तपाईँलाई म गायिका हुन्छु भन्ने लाग्यो ?
मैले २०४२ सालतिर नै स्कूल पढ्दाताका काठमाडौँ आएर गाउँदा गोल्डमेडल पाएकी थिएँ । खेलकूदमा पनि उत्तिकै सक्रिय थिएँ । म्युजिक नेपालले २०४४ सालतिर राप्तीको भेल एल्बम निकालेपछि गायनमा पनि जम्न मन लाग्यो । किनभने, त्यो एल्बम पश्चिममा निकै पपुलर भयो र हरेक ठाउँ जाँदा मलाई मान्छेले त्यो एल्बमकी गायिका भनेर निकै नै माया गरे । त्यसपछि मेरो बाटो त यही रहेछ भन्ने लाग्यो । (उनले आफ्नै आँखाअगाडि ती हाइहाइपूर्ण दिनहरु अहिले देखेझैँ अनुभूत गरिन् ।)

तपाइँ अहिले त यत्तिकी आकर्षक हुनुहुन्छ, त्यसबेला त झनै हुनुहुन्थ्यो । केटाहरुले आँखा लाउँथेनन् ?
(उनको आँखामा चमक देखियो) लाउँथे होलान् तर मलाई उति याद छैन । किनभने म बेफ्वाँक र टम ब्वाई शैलीकी केटी थिएँ । हामी खेलकूदको क्लोजक्याम्पमा हुँदा केटाकेटीको उति धेरै भेद हुँदैनथ्यो । आफ्नो टिममा बसिन्थ्यो । र, ठूलो मान्छे हुनुपर्छ, नाम कमाउनुपर्छ भन्ने ध्याउन्नले मेरो दिमागमा अरु कुराहरु आउन दिएनन् र शायद कसले मलाई आँखा झिम्क्यायो, केटाको आशय के थियो भन्ने तिर उति ध्यान जाँदैनथ्यो ।
अब यो चैँ नभन्नुस् कि कसैले पनि प्रेम प्रस्ताव राखेन ?(केहीबेर लामो हाँसो हाँस्दै) हैन, हैन । कुनै पनि एक्टिभ केटीलाई केटाहरुले प्रस्ताव नराख्ने भन्ने कुरा नै छैन नि ।

तपाइँको जीवनमा पहिलो प्रेम प्रस्तावका विषयमा बताउनुस् न त ?
(अब चाहिँ उनी निकै गम्भीर देखिइन् । ल्यापटपमा रेकर्ड भइरहेको उनको अन्तर्वार्तातिर उनले एक पटक नजर लगाइन् । घोरिएझैँ गरी उनले दुवै हात कपालमा राखिन् र केही झुकिन् । उनको आँखामा केही असजिलोपन महसूस गरेँ मैले । घोरिएको मुन्टो उठाएर उनले मतिर हेरिन् ।) जसले मलाई जीवनमा पहिलो पटक प्रस्ताव राखेँ, ती पनि खेलाडी नै थिए । तिनी बक्सिङका खेलाडी थिए र एकपटक निकै गम्भीर विरामी परेर अस्पताल भर्ना भए । हामी सप्पै खेलाडीहरु मिलेर उनलाई भेट्न जाने भन्ने कुरा भयो । हामी केटा र केटीको हुल बाँधेर अस्पतालमा उनलाई हेर्न गयौँ । पछि मलाई एकान्तमा बस्न र अरु साथीलाई पठाइदिन अह्राए । म एक्लै भएको मौका पारेर उनले मेरो हात समाते । त्यो क्षणमा मलाई पहिलो पटक लज्जा महसूस भयो । मलाई पहिलो पटक म आफू स्त्री रहेछु र ममा पनि लज्जा रहेछ भन्ने लाग्यो ।
अनि ?(एउटा लामो हाँसो) मलाई त यस्तो भयो.... मलाई एकदमै लाज लाग्यो । मलाई दिमागमा ला...! भन्ने लाग्यो । म अरुलाई कन्ट्रोलमा राख्ने, कडा मिजासकी... यस्ती केटीलाई पनि कसैले मन पराउँदोरहेछ भन्ने लागेपछि मलाई त सिनेमाको जस्तो धडाङधडाङढ्याङ भयो । तर म अलि महत्वाकांक्षी थिएँ । ओहो... मेरो हाल के होला बिहेबारी, प्रेममा फँस्यो भने ! भन्ने लागेर भविष्य बिगार्न हुन्न भन्ने लाग्यो । विस्तारै, उनीसित दूरी कायम राख्न थालेँ । हिजोसम्म केटा र केटीबीच भिन्नता नदेख्ने मलाई अब केटाहरुसित दूरी बनाउनु पर्ने आवश्यकता पर्यो ।

भनेपछि तपाइँलाई पहिलो पटक त्यतिबेला केटी भएको महसूस भयो ?
अँ, भन्या । मेरो मुटु बेस्कन धड्कियो । आमाले भन्नुहुन्थ्यो, अब तँ ठूली भइस् । तर त्यतिञ्जेलसम्म ठूली हुनुको अर्थ थाहा थिएन । तर साँच्चिकै म ठूली भइछु । मलाई पनि कसैले रुचाउँदो रहेछ । जब पहिलो प्रस्ताव आयो, म अत्तालिएँ । तर मेरो जीवनमा यी सबै गौण थिए । प्राथमिकता त ठूलो मान्छे हुने थियो ।

ठूलो मान्छे भएपछि त तपाइँलाई प्रेम प्रस्ताव त कति आए आए होलान्, हैन ?
अँ, त्यो चाहिँ सही कुरा हो । त्यो घटना त शुरुवात मात्र साबित भयो । त्यसपछि त कैयौँ त्यस्ता प्रस्ताव आउन थाले ।

पहिलो बिहेको प्रस्ताव चाहिँ कसबाट पाउनुभयो ?
बिराटनगरबाट । भर्खरको मान्छे हुनुहुन्थ्यो, कलेज पढाउनुहुन्थ्यो । बिराटनगरको तालिम सकिएपछि त उहाँहरु मलाई माग्न दाङ नै पुग्नुभएछ । केटा एकदम राम्रो । उहाँ काले-काले मान्छे, त्यस्ता मान्छे मलाई अति मन पर्छ । दाँत हल्का बाहिर निस्किएको । उहाँहरु माग्न आउनु हुँदा मेरी फुपूले मलाई अहिले नै बिहे नगर भन्ने सुझाव दिनुभयो । फुपूले बुहारी भएर जीवन बर्बाद गर्ने कि अगाडि बढ्ने भनेर मेरो लक्ष्यलाई देखाइदिनु भयो । पछि उहाँले अर्कै केटीसित बिहे गर्नुभएछ र, चिठ्ठी पनि पठाउनुभएको थियो- मेरो जीवनमा पत्नीको कल्पनामा तिमी मात्रै छ्यौ, अझै पनि समय छ भन्नुभएको थियो । तर मलाई अरुको भावनामाथि खेल्ने इच्छा लागेन ।

यी त भए तपाइँलाई आएका प्रस्ताव तर खासैमा तपाइँले कसैलाई त मन पराउनुभयो होला नि ?
अँ, मेरो जीवनमा मैले ज्यादै मन पराएको एक व्यक्ति हुनुहुन्थ्यो, जसलाई म असाध्य प्रेम गर्थेँ ।

के नाउँ ?
नाउँ नभनौँ, किनभने उहाँ स्वर्गे भइसक्नुभयो ।के भो त उहाँसँगको सम्बन्ध ?
(एउटा लामो स्वास र अनुहारमा गम्भीरता) उहाँ हामी १० कक्षामा हुँदा ७, ८ र ९ लाई पढाउनुहुन्थ्यो । मलाई उहाँ ज्यादै मनपथ्र्यो । यो सरलाई माया गर्न पाए, यो सरसित नजिक बस्न पाए, मलाई सरले बिहे गरे... यस्तै मात्र भावना आउँथ्यो । पछि त सरको र मेरो मित्रता बढ्यो । कुरा गम्भीर प्रेमसम्म पुग्यो । उहाँ मलाई यत्ति मन पथ्र्यो कि उहाँसित बिहे गर्न राजी पनि थिएँ । उहाँले पनि उत्तिनै मन पराउनुभएको थियो । उहाँ यति धनी हुनुहुन्थ्यो र उहाँहरुको परिवार यति बृहद् थियो कि त्यहाँ गएर बुझ्दा त अत्यासलाग्दो स्थिति थियो । उहाँको परिवारले फेरि खेलाडी र गायन पेशा अँगालेको मान्छे भनेर हेयको दृष्टिले हेर्नुभयो । तर मलाई यो मञ्जुर थिएन । उहाँको परिवारले मानेन, मैले गायन पेशा त्याग्न चाहिनँ उहाँका लागि । त्यसपछि हाम्रो अफेयर पनि सकियो र बिहेको कुरा पनि सकियो । पछि उहाँले यति भव्य बिहे गर्नुभयो कि त्यो बिहे दाङ जिल्लाकै अहिलेसम्मकै भव्य बिहेमध्ये एक मानिन्छ । धेरैले यस्तो माने- उहाँले मलाई देखाउनका लागि यति भव्य बिहे गर्नुभयो । त्यो बिहे पनि मेरै आफन्तमध्ये एकसित भएको थियो तर उति सक्सेस म्यारिड लाइफ भएन । पछि उहाँले आफूलाई रक्सीमा सिध्याउनुभयो ।

यस्तो ट्रयाजिडी भएपछि बिहेप्रति तपाइँको धारणा कस्तो छ त ?
बिहे मान्छेको जीवनमा जरुरी छ । म पनि यसको विरोधी होइन भन्ने कुरा माथिका कुराबाट त थाहा भइहाल्यो । सेक्सका लागि मात्र बिहे गर्ने भन्ने मात्र होइन । बिहे जवानीका दिनमा भन्दा पनि बुढेशकालका लागि आवश्यक हो जस्तो लाग्छ ।

केही समययता मंसिरमै तपाइँको बिहे खान पाइने समाचार पढिँदै थियो,
फागुन कट्न लाग्यो त ?
अँ, घरिघरि मलाई बिहे गरिदिउँ कि भन्ने झ्वाँक चल्छ । त्यै भएर अब चैँ गर्नुपर्ला भन्छु । तर फेरि यो उमेरमा ह्याण्डसम केटा भएर पनि नपुग्दो रहेछ । जीवनमा एक पटक बिहे गर्ने हो, सम्झौतामा किन बिहे गर्ने भन्ने सोचले पनि ढिला भएको होला । मेरो लेभलमा सोच्ने, काम र कुरा गर्ने मान्छे भएन भने बेड शेयर गर्न मात्र किन बिहे गर्ने ? सम्झौतामा जीवन किन बर्बाद गर्ने भन्ने लाग्छ । हेर्दामा मात्र राम्रो पोइ भएर के गर्नु ? (हि हि हि...पछि उनले एउटा गीत गुन्गुनाइन्, आफैँले गाएको) "साह्रै राम्रो पोई परोस् कलेजमा पढेको, मीठो खाई राम्रो लाई सुखसँग बढेको" मात्रै लोग्ने पाएर के गर्नु ?

अनि कहिलेकाहीँ एक्लोपनले तपाइँलाई सताउँदैन ? बूढेशकालमा के होला जस्तो लाग्दैन ?
म एक्लोपनलाई हावी हुन दिन्नँ । त्यसैले त्यस्तो नराम्रो सोच आउँदैन मनमा । अघिल्ला पुस्ताको बूढेशकालको जीवन देखेर मलाई के लागिरहेको छ भने मेरो पनि उनीहरुको जीवनजस्तै सकारात्मक नै टुंगिन्छन् । बाँचुञ्जेल असल हुने, असल गर्ने हो र मरेपछिको जीवनका बारेमा म सोच्दिनँ ।

No comments:

Post a Comment